मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन् । त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् । प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल मधेश, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी सान्तवना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भए । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०२१ मा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औं संस्करण हो ।